माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अपिल - मिति २०७१।१२।०२

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको

अपिल

नेपाल विद्युत प्राधिकरण प्रबर्धक भई माथिल्लो तामाकोशी जलविद्युत आयोजना (४५६ मे.वा.) निर्माण, संचालन र व्यवस्थापन गर्ने उद्देश्यले यो कम्पनी स्थापना भएको कुरा सर्वविदितै छ । आयोजनाको वित्तिय व्यवस्थापन गर्ने क्रममा नेपाल दूरसंचार कम्पनी लि., नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानसमेत संस्थापक समूहका शेयरधनी भई कर्मचारी सञ्चय कोषसंग समेत ऋण सम्झौता सम्पन्न गरी आयोजनाको वित्तिय व्यवस्थापन गरिएको हो । वित्तिय व्यवस्थापन गर्दा लागतको ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत शेयर पूँजी परिचालन गरी आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार ५१ प्रतिशत शेयरपूँजी संस्थापकबाट लगानी भइसकेको र सर्वसाधारण समूहमध्ये हाल १०% शेयर दोलखा जिल्लाका स्थानीय वासिन्दा र २४% शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरु र कम्पनीका कर्मचारी, शेयरधनी संस्था तथा ऋणदाता संस्थाका कर्मचारीहरुको लागि निष्काशन गरिएको छ । हाल शेयर निष्काशनका वारेमा आयोजनाको सम्पूर्ण निर्माणकार्य लगायत मुख्य प्रवेशमार्ग समेत पूर्ण रुपमा अबरुद्ध भइरहेको प्रति यस कम्पनीको गम्भिर ध्यानाकर्षण भएको छ ।

कम्पनीले आयोजना निर्माणको निमित्त वित्तिय व्यवस्थापन गर्न शेयर संरचना तयार गर्दा धितोपत्र नियमावली र लगानीकर्ता एवं ऋणदाता संस्थाहरुसंग भएको सम्झौतासमेतलाई समेट्ने गरी शेयर संरचना तयार गरिएको हो । यस अनुसार संस्थापक समूहका शेयरधनी (नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसंचार कम्पनी लि., नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थान), कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र सम्बद्ध कर्मचारीहरु तथा दोलखा जिल्लाका वासिन्दा तथा सर्वसाधारणलाई समेत शेयर सुनिश्चित गरिएको छ ।

आयोजनाको प्रवेशमार्ग र निर्माणकार्य अवरुद्ध भइरहेबाट आयोजनाको निर्धारित लक्ष्य र कार्यक्रममा गम्भीर रुपमा प्रतिकूल असर परिरहेको छ । यसबाट आयोजनाको समयतालिका लम्बिने र लागतसमेत बढ्न जाने अवस्था सिर्जना भइरहेको छ । मुलुकुमा विद्यमान ऊर्जा संकटलाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पु-याउने राष्ट्रिय गौरबको यस आयोजनाको शिघ्र निर्माण सम्पन्न गर्न सम्बद्ध पक्ष र आम सरोकारवालाको साथ र सहयोग अति जरुरी रहेको छ ।

तसर्थ, पछिल्लो निर्माण समयतालिका अनुसार आगामी २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सुचारु निर्माण भइरहेको यस आयोजनाको निर्माण कार्यमा कुनै किसिमको अवरोध नपु-याई आयोजनाको दैनिक कामकाज सुचारु गर्न सहयोग गरी दिनु हुन सम्बद्ध सवैमा हार्दिक अपिल गर्दछौं ।

कुनै पनि समस्याको समाधान वार्ता र अन्तरक्रियाबाट समाधान गर्न सकिने र त्यसमा कम्पनी सदैव सकारात्मक रहेको व्यहोरा पनि सम्बद्ध सवैमा अनुरोध गर्दै शेयर निष्काशन तथा वितरण सम्बन्धमा वार्ता तथा सम्वादको माध्यमबाट समस्याको समाधान गर्न सकिनेमा कम्पनी विश्वस्त रहेको व्यहोरा सम्बन्धित सवैमा अनुरोध गरिन्छ ।

 

मिति २०७१।१२।०२